close

कहाँ हराए यी कमरेड ?

विगुल संवाददाता-

communist_party_of_nepal__maoist__by_shitalloverhumanity-d5g2ahnएकीकृत नेकपा माओवादीका एक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ‘वेपत्ता’ भएका छन् । अघिल्लो महिनाको माघ २ देखि १८ गते सम्म चलेको केन्द्रीय समिति बैठकमा पनि ती केन्द्रीय सदस्य उपस्थित भएनन् । पार्टीका कुनै पनि निकायलाई जानकारी नदिई वेपत्ता हुने केन्द्रीय सदस्य हुन्, किराँत राज्य समिति अन्र्तगत सोलुखुम्बू जिल्लाका इन्चार्ज पासाङ शेर्पा  । उनको पार्टी नाम कर्मा हो । संविधानसभा निर्वाचन लगत्तै उनी गायब भएको एमाओवादीका एक नेताको भनाई छ  ।

स्रोतका अनुसार भारतको दार्जिलिङ क्षेत्रमा पुगेर पासाङले सानो तिनो व्यापार सुरु गरेका छन् । निर्वाचनमा टिकट नपाएपछि उनी पार्टी शीर्ष नेताप्रति असन्तुष्ट थिए । त्यही भएर पासाङ कसैलाई पनि पत्तो नदिई पलायन भएको उनी निकट एमाओवादी स्रोतको दाबी छ । केन्द्रीय सदस्य लामो समयसम्म पार्टीबाट सम्पर्कविहीन हुँदासमेत एमाओवादीमा यसबारे कुनै चासो र खोजीको औपचारिकता समेत नहुनु आश्चर्यजनक भएको ती नेताको भनाइ छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवारका लागि जिल्ला कमिटी बैठकले पासाङसहित राजेन्द्र बस्नेत, उत्तम बस्नेत, हेमबहादुर राई र गोम्बू शेर्पा गरी पाँच जनाको नाम सिफारिस गरेको थियो । तर राज्य समिति इन्चार्ज हिमाल किँरातीले बस्नेतद्धय र गोम्बु शेर्पाको नाम कटाएर पासाङ र हेमबहादुर राईको नाम मात्र केन्द्रमा पठाएका थिए । केन्द्रबाट पासाङको नाम स्विकृत भएको सञ्चार माध्यमले दुई दिनसम्म  प्रचार गरेका थिए । तर, अन्तिम क्षणमा खेल यस्तो भयो कि पासाङको उम्मेदवारी खोसियो र त्यसअघि नै शेर्पा स्वायत्त प्रदेशका प्रमुख घोषणा गरिएका गोम्बु शेर्पालाई उम्मेदवार बनाइयो । यही खेलबाट उनी विरक्तिएका थिए ।

यी हुन पासाङ
०६७ मा एमाओवादी अध्यक्ष प्रचण्डले सोलुखुम्बु पुगेर शेर्पा स्वायत्त गणराज्य घोषणा गर्दै गोम्बु शेर्पालाई त्यसको प्रमुख तोके । त्यसबेला पासाङचाहिँ इलामको चुलाचुलीस्थित पहिलो डिभिजनमा ब्रिगेड सहायक कमाण्डर तथा डिभिजन कार्यालयका सचिव थिए । माओवादी लडाकुलाइ नेपाली सेनामा समायोजन गर्ने निर्णयसँगै दुई किस्ता गरी सात लाख रुपियाँ लिएर उनले स्वेच्छिक अवकास रोजेका थिए । उनकी श्रीमती पनि लडाकु शिविरमै थिइन् । पासाङले अवकाशको बाटो रोजेपछि श्रीमतिले समेत पाँच लाख रुपियाँ बुझेर सोही बाटो समातिन् । यसपछि लडाकुका डेपुटी कमाण्डर तथा पुर्व पोलिटब्यूरो सदस्य चन्द्रप्रकाश खनालको जोडबलमा एमाओवादी नेतृत्वले पासाङलाई केन्द्रीय सदस्य मनोनित गर्दै सोलुखुम्बको इन्चार्ज बनाएको थियो ।

स्वेच्छिक अवकाश रोजे लगत्तै उनी एमाओवादी राजनीतिबाट पलायन हुने सोचमा थिए । त्यसैले उनले काठमाडौंको टुसालमा कपडा पसल थालेका थिए । पसल सोचेजस्तो नचलेपछि दुई लाख रुपियाँ घाटा खाएर बिक्री गरे । यसपछि धरानमा बसोबास गर्थे, पासाङ । कारण ससुरालीतिरका धेरै आफन्तहरु धरान आसपासमै थिए ।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भएपछि भने पासाङ पुन: पार्टी राजनीतिमा फर्किएका थिए । संविधानसभा दोस्रो निर्वाचनमा जसरी पनि टिकट लिने र जितेपछि अल्पसंख्यक शेर्पाहरुको कार्ड फालेर भएपनि राज्य मन्त्री बन्ने उनको योजना थियो । तर, जिल्ला इन्चार्ज भएर सोलु पुगेपछि भूगोलको राजनीतिबाट टाढिइसकेको व्यक्तिलाई जिम्मेवारी दिएर पठाएको भन्दै उनलाई असहयोग गरियो । पूर्व जिल्ला इन्चार्ज राजेन्द्र बस्नेत, गोम्बू शेर्पा, हिमाल गिरीलगायतले उनको विरोध गरेका थिए । पासाङले सन्तुलन मिलाउएर संगठन परिचालन गर्न सकेनन ।
गत निर्वाचनमा उम्मेदवार छनोट गर्ने बेला राजेन्द्र बस्नेतले पासाङ समक्ष आफु पुरानो तथा पुर्व इन्चार्जसमेत भइसकेकाले आफुलाई सर्मथन गर्न प्रस्ताव राखेका थिए । त्यस वापत समानुपातिक सूचिमा उनको नाम पठाउने राजेन्द्रको प्रस्ताव थियो । तर, पासाङले राजेन्द्रको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आफुलाई नै सहयोग गर्न भने । यसपछि राजेन्द्र र पासाङबीचको दुरी बढेको थियो र उम्मेदवराी सूचिमा ५ जनाको नाम पठाउनु परेको थियो ।

पासाङले आफुलाई सहयोग नगरेको बदला राजेन्द्रले अन्तिम क्षणमा लिए । जब एमाओवादीले सोलुखुम्बुको उम्मेदवार पासाङलाई बनाएको सार्वजनिक भयो जिल्लामै रहेका राजेन्द्र तुरुन्तै हेलिकोप्टरबाट राजधानी ओर्लिएर किँरात राज्य समिति संयोजक बालकृष्ण ढुङ्गेललाई लिएर अध्यक्ष प्रचण्डकोमा पुगे । प्रचण्ड समक्ष राजेन्द्रले पासाङलाई कुनै पनि हालतमा टिकट दिन नहुने अडान राखेका थिए ।

पासाङलाई रोक्न उनीहरुले प्रचण्ड समक्ष नैतिक अस्त्रसमेत फ्याँके । शेर्पा स्वायत्त प्रदेश घोषणा गर्दाचाहिँ गोम्बुलाई प्रमुख बनाउनु र निर्वाचनमा पासाङलाई टिकट दिनु नैतिकसंगत नहुने उनीहरुको तर्क थियो । प्रचण्डले पनि यस कुरालाई स्वीकार गरेर अन्तिममा गोम्बुलाई उम्मेदवार तोक्ने निर्णयमा पुगेका थिए । दुई दिनसम्म आफ्नो नाम प्रचारमा आइसकेकोले पासाङचाहिँ आफूमाथि अपमान गरिएको निश्कर्षमा पुगेका थिए ।

एमाओवादीका एक जिल्ला नेताका अनुसार अन्तिम क्षणमा आफ्नो टिकट खोसेर लिएको इखमा पासाङले निर्वाचनमा गोम्बुलाई मनैदेखि सहयोग गरेनन् । यता राजेन्द्रले पनि गोम्बुलाई मायाले टिकट दिलाउन भुमिका खेलेका थिएनन् । पासाङलाई रोक्न मात्र गोम्बुको पक्षमा लबिङ गरेका थिए । जुनबेला पासाङ  शिविरमै थिए, त्यतिबेला जिल्लामा राजेन्द्र र गोम्बुबीच  चर्को टक्कर परेर जिल्ला कमिटीको बैठकमै हातहालहालको स्थिति बनेको थियो । राजेन्द्र र गोम्बुबीच लामो समय बोलचालसमेत बन्द थियो । यसपछि केन्द्रीय सदस्य गोपाल किराँतीले गोम्बुलाई साथ दिंदै राजेन्द्रलाई जिल्ला इन्चार्जबाटै हटाएर भूमिकाहीन बनाएका थिए ।

केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पासाङ वेपत्ता भएपछि एमाओवादी नेतृत्वले जिल्ला इन्चार्ज राजेन्द्र बस्नेतलाई तोकेको छ भने पासाङलाई चाहिँ स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सशस्द्ध द्धन्द्धकालमा मोरङको लेटाङमा नेपाली सेनाले चलाएको गोली हिपमा लागेर पासाङ घाइते भएका थिए । उनको हिपमा अहिले पनि फलामको पाता राखिएको छ । बैशाखीको सहारा बिना पासाङ राम्ररी हिंड्न समेत सक्तैनन् । वेपत्ता केन्द्रीय सदस्यको खोजी नै नगरी कसरी पार्टीले कसरी स्पष्टीकरण सोध्छ ?

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*