close

पृथ्वीनारायण शाह र वैकल्पिक चेतना

shrawan mukarung_20130725064339प्रसिद्ध वैज्ञानिक एवं दार्शनिक स्टिफन हकिङले कतै भनेका छन्- ‘ईश्वर छन् वा छैनन् भन्ने विषयमा विवाद नगरौं । बरु ईश्वर कति ज्ञानी वा विवेकसम्पन्न छन् ? बुझ्ने कोसिस गरौं ।’ संसारमा ईश्वरको अस्तित्वबारे विवाद तबसम्म रहनेछ, जबसम्म मानिस भन्ने प्राणी यो पृथ्वीमा रहनेछ । किनभने ईश्वर मानिसको स्वार्थको उपज हो ।

हकिङले पनि ईश्वरको अस्तित्व स्विकारेका रहेछन् तर उनी ईश्वरको केवल अस्तित्वको कुनै अर्थ नरहने ठान्छन् । त्यसैले उनी ईश्वरको मस्तिष्कको कुरा गर्छन् । जो, पृथिवीका जीवनहरूका लागि काम लागोस् । हकिङकै विचार सापट लिने हो भने पृथ्वीनारायण शाह भन्ने मानिस हाम्रा लागि अब ईश्वर भइसकेछन् । त्यसैले हामी आज उनका बारेमा बहस गर्दैछौं । त्यसो त हामी नेपाली आफ्ना पुर्खाहरूलाई ईश्वर नै मान्छौं । हाम्रो जीवन-पद्धति हाम्रै इतिहासले मार्गदर्शन गरेको हुन्छ ।

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं’ कविवर माधव घिमिरेले लेखे । त्यो पुग्ने शक्ति र सम्भावना पृथ्वीनारायण शाहको सपनाको विस्तार थियो भनेर इतिहासकारहरूले लेखे । हामीले मान्यौं । तर, आज हाम्रो यथार्थ त पूर्वको मेची र पश्चिमको महाकाली नदीको दुब्लो र अस्थिर रेखाभित्र सीमित छ । कि त हाम्रा लागि यो पृथ्वीभित्र कुनै सीमा नै छैन ।

युद्धमा जित्ने र हार्ने दुवैले गुमाउँछन् । इतिहासमा अनेकौं युद्धहरू जितेर नेपाली जातिले गुमाएका यति धेरै सपनाहरू छन् । ती, हारेर गुमाउनेहरूका भन्दा कता हो कता धेरै छ । विष्मयकारी छ । जसका कारण आज जन्मिने कुनै पनि नेपालीको भविष्य यो ‘कुन दुःखले आज्र्याको मुलुक’मा सुरक्षित छैन । ती आज प्रत्येक दिन हजारौंको संख्यामा बिदेसिन बाध्य छन् । तिनका व्यग्र लस्कर उनै पृथ्वीनारायण शाहको सन्तानको अन्तिम दरबार नारायणहिटी अगाडि देखिन्छ । हो, यहींबाट पृथ्वीनारायण शाह भन्ने इतिहास-पुरुषलाई सम्झिंदा कसो होला ?

इतिहासप्रति उसले गर्व गर्छ, जसका कारण ऊ वर्तमानमा सुखी छ । र, त्यही इतिहास ऊ बारम्बार सम्भिmन चाहन्छ, जसका कारण उसको भविष्य अझ सुरक्षित बनोस् । यसरी जनतालाई बारम्बार इतिहासको गर्तमा धकेल्ने चेष्टा शासकहरूले गर्छन् । तर, जनताका लागि त वर्तमान महत्त्वपूर्ण हो । भविष्य महत्त्वपूर्ण हो । किनभने उसले अहिले बाँच्नु छ र बचाउनु छ । त्यसैले आम नेपाली जनताका लागि पृथ्वीनारायण शाह भन्ने इतिहास त्यति महत्त्वपूर्ण नहुन सक्छ, जति यो देशका नयाँ-पुराना शासकहरूको लागि हुनेछ । तर, जसले आफ्नो रगत-पसिना बगाएर यो भूमिलाई गरिखान योग्य बनाए । पुस्तौंपुस्ता औलो, अन्याय र ठिहीसित जुझ्दै खोरिया, खेत, मन्दिर, गुम्बा र पाठशाला बनाए, तिनलाई यो देशको माया छ । यो देशको इतिहासको माया छ । ती मानिसहरू जसले यो देशको निर्माणसित आफ्नो संघर्षमयी कथा जोडेका छन्, तिनलाई आफ्नो इतिहासको माया छ ।

राजनीतिक रूपले आज नेपाल भन्ने देश त्यहाँ छ, कि हिजोको इतिहासले उसलाई न्याय गर्न सकेन । त्यसैले ऊ आफ्नो नयाँ इतिहास रच्न उभिएको छ । जसका अगाडि ‘नयाँ नेपाल’को परिकल्पना छ । तर त्यो नयाँ नेपालको जगमा इतिहासका ती गौरवमय क्षणहरू हुनेछन् । जसले आम जनताको भावनालाई प्रतिविम्बित गरेकोे होस् । अथवा त्यहाँ जनताको इतिहास सुरक्षित भएको होस् । यस्तो बेला पृथ्वीनारायण शाह इतिहास र राजनीति दुवैको विम्ब बनेर बहसमा छन् । अथवा समयले उनलाई विनिर्माण गर्दैछ । यसरी नेपाली इतिहासलाई संश्लेषण गर्ने प्रक्रियामा आज नेपाली जनता मनोवैज्ञानिक रूपमै दुई भिन्न ध्रुवमा विभक्त छन् । कार्ल माक्र्सको भाषामा भन्ने हो भने द्वन्द्व छ । त्यही द्वन्द्वको पराकाष्ठा स्वरूप एकातिर पृथ्वीनारायण शाह खुनी, व्यभिचारी, साम्राज्यवादी भएका छन् भने अर्कोतिर पराक्रमी, अद्भुत र महान् । आखिर उनी के हुन् ? कति हुन् वा होइनन् ? यसको सार्थक र वस्तुगत उत्तर अबको नेपाली राजनीतिले दिनुपर्नेछ । त्यही उत्तरसित अबको नेपाल र नेपाली जनताको भविष्य गाँसिएको छ । जसको पृष्ठभूमिमा दसवर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनको सारतत्त्व मात्रै लुकेको छैन त्यसले समेट्न नसकेको नेपाली जनताको वैकल्पिक चेतना पनि छ ।

१९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भएपछि सबभन्दा दुःखी सायद महात्मा गान्धी भए । कारण, स्वतन्त्रता उनको सपना थियो । तर, त्यही स्वतन्त्रताले भारत विभाजित मात्रै भएन, लाखौं मानिसलाई हिंसाले खायो । अहिंसा र मावनताका पुजारी गान्धी स्वयं त्यही हिंसाको सिकार भए । नाथुराम गोड्सेजस्तो धर्मान्ध, कट्टर जातिवादीले उनको ज्यान लियो ।

प्रत्येक ठूला परिवर्तनहरू असंख्य परिवर्तनकारी जनताका लाखौं तर भिन्न वा विपरीत सपनाहरूको योगले सम्भव भएको हुन्छ भन्ने ज्ञान गान्धीलाई थियो, थिएन ? यदि थियो भने मोहम्मद अली जिन्नाले पाकिस्तान माग्दा उनी किन दुःखी हुनु ? आज नेपाल त्यही सत्तरी वर्षअघिको भारतको राजनीतिक-समयको समानान्तर रहेर नयाँ संविधान बनाउन जुटेको छ । जनता आफ्नो सपना सुरक्षित भएको नयाँ संविधानले बाँधिन आतुर छन् । तर, नेता कोही गान्धीजस्ता त कोही जिन्नाजस्ता छन् । यथार्थ त के हो भने ती न गान्धी हुन्, न जिन्ना नै । यस्तो बेला इतिहासका अनेकौं अतिरञ्जनाले घेरिएका पृथ्वीनारायण शाहको स्मृति के लाभदायक हुन सक्छ ? तर मान्नुहोस् या नमान्नुहोस् देश त त्यहीं उभिएको छ, मानौं यो देश दसैंमा मार हान्न राखिएको कुभिन्डो हो । जसलाई जो कसैले सजिलै दुई फ्याँक पार्न सक्छ ।

अढाई सय वर्षअघि नै पृथ्वीनारायण शाहले यसो गरेछन्- ‘मलाई आसर्जे लाग्यो र तर मलाई ता रिझायो. दुनिञा जस्देषी राजि रहन्छन्. उसैलाई काजाई दिनु भन्ने सास्त्रमा पनि कहेको छ. दुनिञामा बुझिहेरुं भनि बुझिहेर्दा दुनिञांबाट पनि कालुपाडेको चाहा रहेछ र कालुपाडेलाई कजाई दिनुभया हामी दुनिञांदारमा छाहारि रहं दो हो भन्न्या सल्लाहा दिया र अब बाईसि चौबिसले क्या भन्छन् भनि बुझ्नुहुदा बाईसि चौसिसिबाट पनि कालुपाडेकै चहा रहेछ र कालुपाडेलाई कजाञ िभया घाहा घराईस् बलियो राषन्यैछ भन्ने सल्लाहा दिया. मेरा मनमा ता बिराजबषेतिलाई कजाई दिन आटेको थियो तर ज्याधा बुध्दी कालुपांडेकै ठहर्‍यो र कालुपाडेलाई कजाञि भयाको हो ।(दिव्योपदेश)

तर अढाई सय वर्षपछि यो एक्काइसौं शताब्दीको गणतन्त्रका जिम्मुवाल हाम्रा नेता र राजनीतिक पार्टीहरू के गर्दै छन् ? हाम्रो जस्तो अनेक जाति, वर्ग, समुदाय रहेको विविधायुक्त देशमा यिनले त आफ्नै आसेपासेलाई लोकतन्त्रको उच्चतम् प्रयोग भनिएको (समावेशिता) का नाममा जनताको खास प्रतिनिधि बनाइरहेका छन् र हामी जनता तिनैले हाम्रो भाग्य र भविष्य कोरिदिनेछन् भनेर विश्वस्त हुनुको विकल्पहीन अवस्थामा छौं ।

गोपाल योञ्जनले गाएका छन्, ‘महाकाली-मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र, वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र ।’ यो ‘नेपाली मन’ भनेको के हो ? अमूर्तजस्तो लाग्ने यो शब्द (पदावली) को अर्थको व्यापकता जति छ त्यसलाई मात्र एउटा विचार वा दर्शन पक्रेर परिभाषित गर्न सकिन्नँ । किनभने यो शब्दले वास्तविक नेपाली राष्ट्रियताको गह्रौं भारी उचालेको छ । जुन देशमा विभेदको कुनै सीमा छैन, गरिबी र उत्पीडन छ, मानिसको कुनै मूल्य छैन, जुन मानिस आफ्नै देशमा शरणार्थी वा सपनाशून्य बाँच्न बाध्य छ उसले यो देशको माया किन गर्नुपर्ने ? राष्ट्रियता त न्याय र समानताले आफैं निर्माण गर्दै जाने विषय हो नि । तर, नेपाली त्यो हो, जो अरबको मरुभूमिमा ऊँट चराउँदै सगरमाथा सम्झन्छ । उसको पसिनाले उसको परिवार, उसको समाज, उसको देश चलेको छ । छोराछोरीले पढ्न पाएका छन् । छरछिमेकीले उधारो पाएका छन् । नेताहरूले भत्ता र कर्मचारीहरूले तलब पाएका छन् । एउटा व्यक्तिको कठोर संघर्षले सिंगै राष्ट्र प्रभावित भइरहेको छ । डोरीले बाँधेको बाकस बोकेर फर्कूं या अझै बाकसभित्र बन्द भएर फर्कूं उसलाई कुनै गुनासो छैन । सायद गोपाल योञ्जनले भनेको नेपाली मनको उत्कर्ष यही हो । उसलाई हिजोको इतिहाससित कुनै सरोकार छैन । र, गुनासो पनि छैन । किनभने ऊ शासक होइन । तर, आजको इतिहास भोलि कस्तो लेखिएला ? ऊ भोग्दै छ र आफ्नो इतिहास आफैं लेख्दै छ । ईश्वर त ऊ हुन्छ, हुँदैन तर अढाई सय वर्षपछिको इतिहास पुरुष सायद ऊ हुनेछ । जसले आज करोडौंको रेमिट्यान्स भित्र्याएर यो रुग्ण देशलाई बचाइरहेको छ । जसको इतिहास अढाई सय वर्षअघिको इतिहास पुरुषको इतिहासभन्दा कुनै पनि अर्थमा कमजोर हुने छैन । बरु अझ पुज्यनीय हुनेछ, श्रद्धायोग्य हुनेछ ।

मालिक

मेरा औंलामा खोपिएका छ्यान्द्रा

र बगेका रगतहरूले मलाई उक्सायो-

तरबारले आर्जेको मुलुकभन्दा मैले

धागोले उनेको मुलुक विशाल ठानें हुँला

-बिसे नगर्चीको बयान)

कान्तिपुर दैनिकबाट 

 

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*