close

तिमी को? – गोपाल प्रसाद रिमाल

GopalPrasadRimalLयहाँ हामीलाई आफ्नो आवश्यकता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ,
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
त्यो धरमर नै प्रिय छ,
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौँ,
त्यसो भन्ने तिमी को?
यहाँ श्ऋन्खला ल्याउन खोज्ने तिमी को?
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हाम्रो जयमाला बनाउन चाहन्छौं,
“तिमी जितेका छैनौ, जित्ने त अर्कै छ” भन्ने तिमी को?
हामीलाई हाम्रो आलस्य नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को?
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ति
कसैले केही बेरका लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपना छ,
“त्यसो नगर आफैँ योग्य बन ” भन्ने तिमी को?
आफ्नो आवश्यकता, आफ्नो आलस्य, आफ्नो घीनसीन पोख्ने
हामीलाई एउटा पात्र चाहिएको छ,
हामी हाम्रो हितैषीलाई मारेर भए पनि
“हामी उसले भने जस्तो होइनौँ ” भनेर
आफ्नो वीरता साबित गर्न चाहन्छौँ
“त्यसो नगर” भन्ने तिमी को?

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*