close

हटाईयो खरेललाई, भावी आइजीपीको समीकरणमा प्रभाव

Ramesh kharelबिगुल । आफ्नै संगठनबारे जथाभावी बोल्दै हिंडेको भन्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेशप्रसाद खरेललाई काठमाडौं प्रमुखको जिम्मेवारीबाट विदा दिइएको छ । खरेललाई प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी उत्तमराज कार्कीलाई पठाइने भएको छ । कार्की अहिले केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का निमित्त प्रमुखमा छन् ।

केही डीआइजीहरु बढुवाका लागि पैसा लिएर शक्तिकेन्द्रमा धाइरहेको भन्दै भाषण गरेपछि राजधानीमा भएका केही डीआइजीहरुले आइजीपी उपेन्द्रकान्त अर्याललाई भेटेरै खरेललाई कारबाहीका लागि दबाब दिएका थिए । यसअघि समेत आइजीपीको मौखिक सचेतको कारबाही भोगिसकेका खरेलले पुन: सोही प्रकृतिको गल्ती दोहोर्‍याएपछि आइजीपी अर्याल समेत तनावमा परेका थिए ।

केह गर्न सक्ने प्रहरी अधिकारीका रुपमा हेरिएका खरेलबाटै चेन अफ कमाण्ड जस्तो अनुशासनको गम्भीर उल्लंघन गरेकोमा अर्याल अचम्ममा समेत परेका थिए । अफ्ठेरोमा परेका अर्यालले गृह मन्त्रालयसँगको छलफलपछि खरेलमाथि छानविन गर्न डीआइजी विज्ञानराज शर्माको नेतृत्वमा तीन सदस्यीय टोली बनाएका थिए । शर्मा खरेलको अभिव्यक्तिको प्रत्यक्षदर्शी र एआइजीका आकांक्षी समेत भएकोले उनले कस्तो प्रतिवेदन दिन्छन् भन्ने उत्सुकताका साथ हेरिएको छ ।

आशा गरिएका प्रहरी अधिकारी भएपनि खरेल बारम्बार विवादमा आउने प्रहरी अधिकारी समेत हुन् । सस्तो लोकप्रियताका लागि मिडियाबाजी गर्ने आरोप समेत उनीमाथि छ । जनताको सुरक्षाको जिम्मा लिएको प्रहरी अधिकारीले फिल्मको नायकजस्तो सेलिब्रेटी बन्दै हिंडेकोमा प्रहरीभित्रै उनका विरोधी थुप्रै छन् ।

खरेलमाथि सहानुभूति राख्नेहरु समेत खरेलको पछिल्लो टिप्पणीप्रति कुरा साँचो भए पनि अति नै गरेको भन्ने निष्कर्षमा पुग्न थालेका छन् । आइजीपी सचिवालयका एकजना अधिकारी भन्छन्, “बढुवामा पैसाको चलखेल भएको होला । तर त्यसरी बिना प्रमाण किन बोल्नु ? अनुसन्धान गर्ने महत्वपूर्ण ठाउँमै थिए प्रमाण जुटाएर अनुसन्धान गरेको भए भइहाल्थ्यो नि ।” जे होस् खरेलको खस्रो व्यवहारले उनको करियरमा भने दाग लाग्ने भएको छ ।

आफ्नो व्याचमा आइजीपीका दाबेदार ठानिएकोले समेत खरेलको कारबाहीले दूरगामी प्रभाव पार्ने देखिन्छ । खरेल ब्याचीमा एक नम्बरमा छन् भने त्यसपछि क्रमश: एसएसपीद्धय सर्वेन्द्र खनाल र राजेन्द्रमान श्रेष्ठ छन् । खरेल र खनालबीच अघोषित शत्रुता समेत रहेको छ । खरेल प्रकरणले खनाललाई भने फाइदा पुगेको विश्लेषण प्रहरीभित्रै शुरु भएको छ । खनाल समेत यसअघि इटालीमा भएको तालिममा आफू सर्वोत्कृष्ट बनेको झूटो सूचना दिएकोले विश्वसनीयतामाथि प्रश्न भने उठेको छ । दुवै अधिकारी विवादमा तानिए तेस्रो नम्बरका श्रेष्ठलाई आइजीपी बन्ने अवसरको ढोका खुल्न बेर छैन ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*