close

गुण्डा नाइके छुटाउने मध्यरातको फैसला

image-da7f1255ce7e10ede9111e6f831b91d8ddd854312dbd26329f5ec0c6a8e4e0e5-Vएउटै मुद्दाको फैसला गर्न वर्षौं कुराउने न्यायलयले चर्को व्याजमा लगानी गर्ने गुण्डा नाइकेलाई छुटाउन भने मध्यरातसम्म इजलासको ढोका खोलेर सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश राजेशकुमार काफ्लेको इजलासले व्याजका व्यापारी महेशबहादुर सिंहको फैसला १८ जेठको राति साढे नौ बजे गरेका हुन् । त्यो पनि प्रक्रिया मिचेर अदालतले रातारात सिंह छुटाउने फैसला गरेको हो । उजुरीवालाको साक्षी प्रमाणै नबुझी काफ्लेको इजलासले सिंहलाई सफाई दिएको हो ।

क्डा कानुनी कारबाहीको भागीदार हुने व्यक्तिलाई अदालतले अभियोगको प्रमाण नपुगेको भन्दै छोडेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरी समेत निराश बनेको छ । “मध्यरातसम्म बहस भएको सुन्दा नै हामीलाई अचम्म लागिसकेको थियो,”महानगरीय प्रहरी परिसर काठमाडौंका एकजना डीएसपीले भने, “राज्यको एउटा निकायले मात्रै चाहेर कोही अपराधीले सजाय नपाउँदोरहेछ । यो भन्दा उदेकलाग्दो घटना के हुन्छ ?”

राजनीतिक र प्रहरी प्रशासनमा पहुँच भएका सिंहलाई प्रहरीले समेत पक्रन हिम्मत गरेको थिएन, लामो समयदेखि । तर एसएसपी रमेश खरेल काठमाडौं प्रमुख बनेपछि सिंहलाई पक्राउ गरिएको थियो । संयोग कस्तो पर्‍यो भने खरेल अघोषित कारबाहीमा परेर प्रहरी मुख्यालय तानिएकै बेला सिंह छुट्ने फैसला न्यायलयले गरेको छ ।mahes singh

काफ्लेको इजलासले लामो समयदेखि वेपत्ता बनेकी छोरीमैंया महर्जनको फैसला समेत सोही मध्यरातमै गरेको थियो । सिंह र छोरीमैयाँको फैसला सुनाउने समय १५ मिनेटको फरक मात्रै थियो । सिंहमाथि अपहरण तथा शरिर बन्धक, अपहरण तथा शरिर बन्धक उद्योग र चोरी मुद्दा लागेको थियो । सबै मुद्दामा सिंहले सफाई पाएपछि पीडितहरु त्रसित बनेका छन् ।

प्रक्रिया मिचेर जिल्ला न्यायधीशले फैसला गरेपछि सिंह १९ जेठमै डिल्लीबजार कारागारबाट बाहिरिएका छन् । सिंहमाथि हातहतियार तथा खरखजना र वन्जन्तु सम्बन्धी मुद्दाका लागि प्रहरीले ललितपुर पठाएको छ । सिंहलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
सिंहलाई लामो प्रयासपछि काठमाडौं प्रहरीको विशेष टोलीले गत फागुनमा पक्राउ गरेको थियो । प्रहरीले सिंहबाट साढे ३५ करोड रुपियाँको चेक र ऋणीले हस्ताक्षर गरेका करोडौं रुपियाँका खाली चेकसमेत बरामद गरेको थियो । प्रहरी अनुसन्धानबाट सिंहको एक अर्ब रुपियाँको सम्पतिको स्रोत नखुलेपछि थप अनुसन्धानका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पत्रचार गरेको थियो । तर विभागले यसमा समेत आँखा चिम्लदै आएको छ ।

सिंह अफ्ठेरोमा परेका व्यावसायीलाई एक सय २० प्रतिशतसम्म व्याज लिएर ऋण दिने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भाकाभित्रै ऋण नबुझाउनेलाई सिंहले पेस्तोल तेर्साएर रकम असुल्ने तथा व्यक्तिका सम्पति आफ्नो नाममा बनाउने गर्थे ।
स्रोतका अनुसार सिंहलाई छुटाउने न्यायलयमा कम्तीमा पनि दुई करोड रुपियाँको चलखेल भएको छ । सिंहविरुद्ध जाहेरी दिने राजराम बाँनिया र ठाकुरप्रताप थापाले इजलासको वकपत्रमा आफूहरुले तनाव र आवेशमा आएर उजुरी दिएको बयान दिएपछि नै सिंह छुट्ने अनुमान थियो । नभन्दै भयो, त्यस्तै । पीडित पक्ष जिल्ला अदालतको अवैद्य फैसलाको विरुद्धमा पुनरावेदन जाने भएका छन् ।

 

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*