close

अयोग्य लडाकुदेखि नेस्नल जोग्राफिक नायिकासम्म


विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ को उपाधि अल्ट्रा म्याराथन धाविका मिरा राईले जितेकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्नेहरुको सूचिमा उनी अनलाईन भोटिङमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ । राईसहित १० जना मनोनयन भएका थिए ।

बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूमध्येबाट छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने थियो । सर्वा्धिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन् ।

स्कुल पढ्दापढ्दै उनी १४ वर्षको उमेरमा माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन् । माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन् । सेना समायोजन क्रममा अयोग्य भएकी मीराको जीवनको सफलताको अर्को दैलो भने त्यसपछि खुल्यो ।

अयोग्य लडाकुलाई दिएको १० हजार रुपियाँ बाकेर निस्किएकी मीरा अन्तत: विश्व च्याम्पियनको दौडमा सामेल भइन् । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई हराएर पहिलो भएपछि एकाएक चर्चामा आइन् । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनिन् ।

अल्ट्रा म्याराथनकै कारण नेपाली चेलीले विश्व कीर्तिमान राख्दै आएपनि नेपाली खेलकुदका निकायले भने बेवास्ता गर्दै आएको छ । खेलाडीले आफ्नै लगानी र निजी पहलका कारण मात्रै उनीहरुले यस्तो सफलता हासिल गरिरहेका छन् ।

विगत दुई वर्ष अवविधको सफलताले मीरा विश्व वरियताको दोस्रो स्थानमा छिन् । उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन् । त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन् । त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो ।

राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । भोजपुरको सानोदुम्मामा जन्मेकी मीराको बाल्यकाल गाईबस्तु चराउने र खेतीपातीमै बितेको थियो । उनले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छिन्, “गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन । पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउाथ्यौं ।”

घाइते अवस्थामै दौडिएर मीराले इटाली र नेर्वेमा सफलता हात पारेर साहसिकको परिचय विश्वसामु दिएकी थिइन्, मीराले ।


प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*