close

सम्पदा सर्वस्व ! सम्पदा संरक्षण गर्दा के पाइन्छ, भक्तपुर नगरवासीलाई सोध्नू ।

20080912083441संस्कृतिविद् डा. साफल्य अमात्यको पुस्तक ‘संस्कृति र संरक्षण’ को भूमिकाको एकठाउँमा कवि क्षेत्रप्रताप अधिकारीले लेखेका छन्– ‘सांस्कृतिक सम्पदा नवनिर्माण गरिने सडक होइन । यो त सम्मानपूर्वक संरक्षण गरिनुपर्ने राष्ट्रिय आत्मा हो । राष्ट्रिय चरित्र हो ।’ डा. अमात्यले चाहिं किताबको एकठाउँमा यस्तो लेखेका छन्– ‘सांस्कृतिक सम्पदा भनेको स्मारक, मूर्ति र चित्र मात्र होइन ।

जुनसुकै राष्ट्रको आफ्नो इतिहास र परम्परागत सम्बन्ध रहेको जनजीवनसँग आबद्ध आफ्नो मौलिकपन भएको मूर्त वा अमूर्त जेसुकै कुराहरू पनि सांस्कृतिक सम्पदाको विशालताभित्र समाविष्ट हुन सक्छ ।’

संरक्षणबाट कमाइ
भक्तपुर नगरपालिकाले गत आर्थिक वर्षमा विदेशी पर्यटकबाट रु.१८ करोड भिœयाएछ । एउटा सिन्को नबेची उसले भित्र्यायो, त्यत्रो नगद । अझ् भनौं, संसारभरका सम्पदाप्रेमीहरू भक्तपुरेलाई पैसा पुर्‍याउन भक्तपुर नै आए । १५ अमेरिकी डलर तिरेर भक्तपुर नगरपालिकाको चौघेरो घुम्न विदेशी पर्यटकहरू मरिहत्ते गर्छन् । त्यसका लागि भक्तपुरेहरूले एउटै काम गरेका छन्– पुर्खाको वास्तुसम्पदालाई जीवन्त राख्ने ।

मेयर ज्ञानबहादुर न्याइच्याइको पालामा २०५० सालमा भक्तपुर नगरपालिकाले प्रति पर्यटक १ अमेरिकी डलर शुल्क लिने नियम बसाएका थिए । त्यो १ डलरलाई सम्पदा संरक्षणमै लगाएको भक्तपुर नगरपालिका अहिले शिक्षा र स्वास्थ्यमा समेत करोडौं लगानी गर्ने हैसियतमा पुगेको छ । र, सिक्न चाहनेहरूका लागि सम्पदालाई टक्सार बनाउने फर्मूला सिकाएको छ ।

सांस्कृतिक सम्पदामा काठमाडौं र ललितपुर पनि भक्तपुर जस्तै धनी हुन्, तर माल पाएर के गर्नु, चाल नपाएपछि । उनीहरू केवल दरबार परिसर, स्वयम्भू, बौद्ध र पशुपतिनाथको चौघेरो टल्काएर बसेका छन् ।

ती भवनहरू भत्किने समय आएको दिन उनीहरूसँग भक्तपुरसँग जस्तो टाल्ने सीप पनि हुने छैन । भोलिका सम्पदा आज सिर्जना हुन् र पुरानो सीपको प्रयोग गरिएन भने एक दुई पुस्तापछि त्यो मासिएर जान्छ भन्ने हेक्का राखेको देखिन्न, यी दुई नगरले ।

पाहुना सम्पदा
सम्पदा बचाए धेरैथोक पाइन्छ । तर, नेपाली सम्पदाहरूले भुईंचालो र आगलागीदेखि अतिक्रमण र बाह्य आक्रमणसम्मको विपत खेपेका छन् ।

बाबुराम आचार्यले आफ्नो पुस्तक ‘नेपालको सांस्कृतिक परम्परा’ मा लेखेका छन्– ‘इ.सं. १३४९ मा बंगालका सुल्तान समसुद्दीन इलियस शाहको जोडदार आक्रमण हुँदा वर्तमान काठमाडौं उपत्यकाभित्र रहेका प्रायः सबैजसो देवमूर्तिहरू खण्डित गराइएका थिए । यहाँसम्म कि भगवान पशुपतिनाथको आराध्य प्राचीन मूर्ति पनि यस आक्रमणबाट बच्न सकेको थिएन ।”

समसुद्दीनले मठ–मन्दिर र मूर्तिहरूमाथि आक्रमण गरे पनि काठमाडौंवासीको विशिष्ट सीप खोस्न सकेन । अनि त, निरन्तर बनाइए उन्नत कलाकौशल सहितका दरबार, देवालय, मन्दिर, पाटी–पौवा, ढुंगेधारा र अन्य संरचनाहरू ।

पृथ्वीनारायण शाहको आक्रमणपछि मल्लहरूको त्यो विशिष्ट कलाकौशल अलि समय धर्मरायो । तर, शाहले गोर्खाली शासन लगाए पनि काठमाडौंको वास्तुकलालाई निरन्तरता दिए । जितको दम्भले होला, उनले मल्लकालमा अभ्यास नभएको अग्लो (नौतले) दरबार र ठूल्ठूला टावर उभ्याए, जुन अहिले पनि भव्य लाग्छन् ।

धरहरा र एकाध दरबारलाई छाड्ने हो भने भीमसेन थापाले पनि मल्ल वास्तुलाई तिरस्कार गरेनन् । जंगबहादुर बेलायत घुमेर फर्किएपछि भने नेपाली मौलिक वास्तुकलाको दिन सकिए झैं भयो । नियो क्लासिकल शैलीका बडेबडे दरबारहरू बन्न थाले ।

१९९० सालको भुईंचालोमा भत्किएका प्राचीन मठमन्दिरहरूको जीर्णोद्धार समेत उतैको शैलीमा भयो । तर, सम्पदा बन्नलाई देशमै उब्जिएको शैली नचाहिदो रहेछ । नियो क्लासिकल आज हाम्रो सम्पदा भएको छ । सुविचारित कलाले जता पनि सम्मान पाउँछ भन्ने राम्रो उदाहरण बनेका छन्, बेलायती वास्तुशैलीका नेपाली भवनहरू ।

नारायणहिटी परिसरभित्र नयाँ भवन बनाउने प्रशस्त ठाउँ छँदाछँदै राजा महेन्द्रले ऐतिहासिक दरबारहरू ध्वस्त पारेको र टुँडिखेलको चौतारो सहितको ऐतिहासिक खरीबोट मासेको इतिहासकार पुरुषोत्तमशमशेर राणाले उल्लेख गरेका छन् ।

महेन्द्रका माइला सुपुत्र ज्ञानेन्द्रले पनि नारायणहिटी परिसरभित्रको त्रिभुवन सदन भत्काई दिए । सम्पदाले राम्रो इतिहास मात्र नसुनाई दुर्दिन पनि सम्झउँदै त्यस्तो कर्म नदोहोर्‍याउने शिक्षा समेत दिने हुनाले ‘दरबार हत्याकाण्ड’ भएको त्रिभुवन सदन जोगाउनुपथ्र्यो, तर त्यसो हुन सकेन ।

राजधानी भएकोले काठमाडौं शहरको व्यापारिक महत्व छ । यहाँ ठूल्ठूला अपार्टमेन्ट विल्डिङ र मलहरू बन्नु÷बनाइनु अस्वाभाविक होओइन । त्यसो भन्दैमा हाम्रो विशिष्ट पहिचानलाई बिर्सन मिल्दैन । सम्पदालाई सर्वस्व ठानेर संरक्षण गर्नेको जय होस् ।

हिमाल खबरपत्रिकाबाट

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*