close

राजनीतिमा ‘सुन बूढा’हरू

1546196_3728678273384_828430352_nबबिता बस्नेत-   गाउँघरमा कसैले अलि पाको उमेरकी सम्पत्तिवाल महिला विवाह गरे भने सुन बूढी विवाह गर्‍यो भन्ने गरिन्थ्यो। आफ्नै सम्पत्ति भएका महिला त धेरै हुन्छन् तर विवाहको सेरोफेरोबाहेक यो शब्द खासै प्रचलनमा आएको पाइँदैन। नेपाली बृहत् शब्दकोशमा ‘सुन बूढी’ को अर्थ ‘धनी आइमाई’ भनी उल्लेख गरिएको छ। ‘सुन बूढा’ भन्ने शब्द न शब्दकोशमा छ न बोलीचालीमै।

तर अहिले नेपाल सरकारका मन्त्रीको सम्पत्ति विवरणमा सामेल भएको सुनको मात्राले भने सुन बूढाहरू धेरै रहेको पुष्टि भएको छ। नेपाली राजनीतिमा सुन बूढाहरू हृदयेश त्रिपाठीदेखि राजेन्द्र महतोसम्म हिजो पनि त्यत्तिकै थिए र आज पनि छन्।

डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा मधेसी समुदायका मन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लिखित सयौं तोला सुन सर्वसाधारणका लागि आश्चार्यजनक थियो। उक्त आश्चर्यलाई निरन्तरता दिँदै अहिले फेरि सय तोलाको हाराहारीमा सुन हुने मन्त्री देखिएका छन्।

बजारमा सुनको भाउ अकासिएको बेला नेपाल सरकारका मन्त्रीको यस प्रकारको सम्पत्ति विवरणले नेपालमा कुन वर्गका मानिसले सुन खपत गर्दा रहेछन् भन्ने सामान्य जानकारी पनि भएको छ। सर्वहारा वर्गको हितका लागि वर्षौं लडेका मानिनेले समेत सुन, चाँदीलगायत अन्य सम्पत्तिको राम्रै भण्डारण गरेको पाइनुले नेताहरूका भनाइ र गराइबीचको फरक छर्लंग भएको छ।

विश्वमा सुनको इतिहास धेरै पुरानो छ। विश्वयुद्धका बेला सुनलाई पैसाको मूल्यमा प्रयोगमा ल्याइएपछि बढेको सुनको महत्त्व कहिल्यै घटेन, बरू बढ्दै गयो। टर्कीले पहिलोपल्ट सुनको सिक्काको सुरुआत गरेपछि विभिन्न देशमा सुनका सिक्का अहिले पनि प्रचलनमा छन्।

नेपालमा पनि राष्ट्रबैंकले सुनको सिक्का जारी गर्छ, जसलाई असर्फी भन्ने गरिएको छ। धनाढ्य परिवारमा जग्गा, जमिन, घर जस्तै गरी असर्फीलाई अंशका रूपमा भागबन्डा गर्ने गरिएको छ। हाम्रा नेताहरूका बीचमा मात्र नभएर विश्वमै सुनको दबदबा भए पनि विश्वभरि सुन भने जम्माजम्मी एक लाख ७४ हजार एक सय टन मात्रै छ, जसमध्ये ५० प्रतिशत गहनामा, ४० प्रतिशत लगानीमा र १० प्रतिशत उद्योग व्यवसायमा लगानी हुने गरेको छ।

यो प्रतिशतमध्ये हाम्रा नेताहरूले घरमा राखेको सुन गहना प्रयोजनका लागि भनेर बुझ्नुपर्ने हुन्छ। झट्ट हेर्दा सुनको प्रयोग गहनाका रूपमा सबैभन्दा बढी अरबी मुलुकतिर हुन्छ होला भन्ने लागे पनि सबैभन्दा बढी सुन खपत हुने मुलुक भारत हो।

धेरै कुरामा छिमेकी मुलुकको अनुशरण गर्न चाहने हाम्रा नेताहरूले सुन जोहोको सिको पनि उतैबाट गरेका रहेछन् भनेर बुझियो भने पनि खासै फरक पर्ला जस्तो लाग्दैन। मुलुक चलाउने प्रणाली र दिगो प्रजातन्त्रका लागि पहलका कुराको सिको नगरे पनि सुन भण्डारणलगायतका पक्षमा राम्रै छाप परेको पाइएको छ।

 

नगदे सम्पत्तिको रूपमा गणना हुने सुनलाई सामान्यतया गरिबको गहना पनि मानिन्छ। धनी मुलुकमा मानिसले प्राय: सुनका गहना लगाउँदैनन्। उच्च शिक्षित र धनी वर्गमा प्राय: हिरा र मोतीका गहना प्रयोग हुने गर्छन्। दक्षिण एसियामा जस्तै अफ्रिकी महिलामा पनि सुनको गहनाको आकर्षण बढी छ।

सुनको गहना लगाउनुलाई उनीहरू आफ्नो प्रतिष्ठाको विषय ठान्छन्, जुन कुरा भारत, बंगलादेश र नेपालमा पनि छ। नेताहरूको सुन र अन्य सम्पत्ति विवरणबाट सर्वसाधारणका मनमा उठेको समान प्रश्न कति धेरै सुन या सम्पत्ति भन्ने भन्दा पनि उहाँहरूको यति धेरै सम्पत्तिको स्रोत के हो भन्ने हो।

सम्पत्तिको स्रोत नखोली सम्पत्ति विवरण सार्वजनिक गर्नुको खासै अर्थ देखिँदैन। झट्ट हेर्दा उहाँहरूमध्ये धेरैको आम्दानीको स्रोत प्रजातन्त्रबाहेक अरू केही देखिँदैन। २०४६ सालको प्रजातन्त्रको सुरुआती दिनमा उहाँहरूको सम्पत्ति र अहिलेको सम्पत्ति विवरणबीचको दूरीमा यसो भन्न सक्ने आधार हो।

महिलाबीच सर्वाधिक आकर्षक मानिने सुनको जोहो पुरुषले गर्नुलाई पनि रोमाञ्चक मानिएको छ। हुनत, सुनको यो भारी मात्रा नेता पत्नीकै लागि जोडिएको होला तर यसमा महिलाको लागि प्रयोग गरिने भनेर कहींकतै बुझिँदैन। पत्नीकै लागि जोडिएको भए पनि नेताका पत्नी कति विशेष रहेछन् भन्ने अर्थ यसले लगाएको छ।

जिन्दगीको लामो समय विवाह नगरी बसे पनि प्रधानमन्त्री सुशील कोइराला भने सुन बूढा हुन सकेनछन्। प्रधानमन्त्री कोइराला विवाह नगरेकै कारण सुन बूढा बन्नबाट बञ्चित भएका हुन् कि? नत्र वर्तमान मन्त्रिपरिषद्मा सबैजसो सुनवादी देखिए।

सुनको महत्त्व धेरै भएकै कारण मानिसका उपलब्धिमा दिइने विशेष अवार्ड प्राय: सुनसँग जोडिने गरेका छन्। विभिन्न क्षेत्रमा उच्च उपलब्धि गरेबापत प्रदान गरिने गोल्ड मेडल यसको एउटा उदाहरण हो। सुनको नहुँदो हो त नोबेल पुरस्कारको महत्त्व यति धेरै हुने थिएन होला।

विश्वकपमा दिइने कप होस् वा अन्य ट्रफी सुनले नै तिनका महत्त्व बढाएका हुन्। हाम्रो हिन्दु परम्परामा कोही कसैलाई कतै चोख्याउनुपर्‍यो भने सुनपानी छर्किने चलन छ। मर्दा पनि पाएसम्म सुनको सानो टुक्रक्रा मुखमा हालिदिने गरिन्छ। अब यतिका सुन राखेर बस्ने नेतालाई भोलि यही सुनले बिटुल्यायो भने के छर्किएर चोख्याउने होला भन्ने चिन्ता पनि कार्यकर्तामाथि थपिएको हुनुपर्छ।

अन्त्यमा, एउटा उर्दु सायरी- खुब कमाओ सोना, हिरे, मोती…मगर याद रखना कफनमें जेब नही होती…।

अन्नपुर्ण दैनिकबाट 

 

 

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*